[Show all top banners]

AashaaNaaraa
Replies to this thread:

More by AashaaNaaraa
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मैले जे भोगेँ त्यै लेखेँ --मेरो विश्वासमाथि घात भएको त्यो दिन
[VIEWED 13613 TIMES]
SAVE! for ease of future access.
Posted on 03-02-13 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 काठमाडौंको नेवारी परिवारमा हुर्केको मलाई नेवारी संस्कार र खाना माछालाई पानी बराबर नै हो । सात समुद्रपारि परदेशमा रहेपनि म अक्सर नेवारी खानासँग प्रयोग गरिरहन्छु--प्रयोग यस अर्थमा कि खाना पकाउने पूर्ण ज्ञानको अभावले एक कुरा पकाउँदा अर्कै कुरा पाक्छ । गएको समरपनि आमाबुवाको छोटो अमेरिका बसाइँमा धेरै नेवारी परिकार पाक्यो घरमा । कहिले व:, त कहिले चटाँमरी, त कहिले छोयला, त कहिले योमरी--मज्जैसँग मोटाइएको थियो त्यो बेलामा त । धेरै खानाको मजा लिएपनि मैले ती खानाहरु पकाउन सिक्ने चेष्टाचाहिँ गरिन। एउटा उखान छ नि--कुनैपनि कुराको आधामात्र ज्ञान भयो भने त्यो खतरनाक हुन्छ । सायद त्यहि आधा ज्ञानको उपज थियो कि म र मेरा रूममेटहरु मिलेर एक दिन "खोया बीर्को" अर्थात् "राइस बिएर" बनाउन तम्सियौँ। आमाले सजिलै "थ्वँ" पकाउनुभएको देखेर त यो नाथे पकाउन कुनचाहिँ आइतवार हो र जस्तो लाग्थ्यो । तर मैले "प्राक्तिस मेक्स पर्फेक्ट" को साधारण सिध्दान्तको उपहास गरेछु--वर्षौको ममीको त्यो प्राक्तिसका अगाडि मेरो एमेच्यौर प्रयास कहाँ टिक्थ्यो र ? जाँड मेकिङको रसायन समिकरणमा खोइ के मिलेन कुन्नी अपार्ट्मेन्टभरि दुर्गन्ध फैलिएर हैरान। धन्न नेबरले ९११ कल गरेन ।

यसरी म सकेसम्म त नेवारी खाना मिस हुन नै दिन्न र मिस भैहाल्यो भनेपनि त्यो तल्तल मेट्टाउन कहिले नेपाली रेस्टुराँ जान्छु त कहिले साथीहरुको घर जान्छु । तरपनि धीतमर्ने या भनौं "आजचाहिँ खाइयो है" भन्ने जस्तो नेवारी खानाचाहिँ जहिल्यै मिस हुन्छ । यस्तैमा मेरा एक परममित्रले एउटा सन्देश सुनायो मलाई जुन म जस्तो मान्छेलाई "के खोज्छस् कानो आँखो" जस्तै थियो । त्यो खबर थियो ड्यालसस्थित एक संस्थाले आयोजना गर्ने वार्षिक नेवारी भोजको । सायद यस संस्थाले विगत केही वर्षदेखि यस्तो कार्यक्रम आयोजना गरेको थियो क्यार तर आफ्नो पढाइ र कामको व्यस्तताले गर्दा यतातिर हेक्का नै भएन । जे होस "ढीलै भयो तर छोरै भयो"। यसरी म गएको वर्षदेखि यस कार्यक्रममा सहभागी भैरहेको छु । गएको वर्ष त खाना र कार्यक्रम दुवै नै यति राम्रो थियो कि आयोजकको आंकन नै फेल खाने गरि अपेक्षीतभन्दा धेरै गुना मान्छे आएर बिचरा अन्त्यतिर आउनेहरु त खानै नखाइ फर्कनुपर्यो । यसरी व्यग्रताका साथ यस वर्षको कार्यक्रमको प्रतीक्षामा थिएँ म । दशैं र तिहारको बीचमा या भनौं "न्हुँ दँ" नेपाल सम्बत नयाँ वर्षको अवसर पारेर आयोजना गरिने यस समारोह कहिले हुन्छ भनेर पत्ता लगाउन मैले कस-कसलाई मात्र सोधिन र कुन- कुन वेबसाइट मात्र हेरिन। अन्तत: मिति तय भयो अक्टोबर २३ २०११ ।

गत वर्षको सफल कार्यक्रमले उत्प्रेरित मैले मेरो पलङछेउको भित्तेपात्रोको २३ तारीखमा ठूलै चिन्ह लगाएको थिएँ किनकि त्यस दिन मलाई काममा छुट्टी मिलाउनु थियो । साहूसँगको अनेकौँ भनाभन र रडाकोपछि बल्लबल्ल छुट्टी मिल्यो । नेवारी कला संस्कृतिलाई धेरै नै माया गर्ने म यो कार्यक्रममा स्वंमसेवकको हिसाबले नै सक्रिय हुने चाहना थियो तर फेरि उही काम र पढाईको चटारोले गर्दा समय दिन नै भ्याइएन । देश संक्रमणकाल र विखण्डनतिर लम्किरहेको बेला के साम्प्रदायिक्ताको कुरा उठाएको होला यसले भन्दै हुनुहोला यहाँहरुले । तर म नेवारी कला संस्कृति मात्र नभइ अरु जातीय कला संस्कृतिलाई पनि उत्तिकै माया गर्ने मान्छे हो । मेरो अमेरिका बसाइँमा न्यूयोर्कमा ल्होसार मनाउन पनि पुगेको छु म भने हाम्रा तराइका समुदायले आयोजना गर्ने छठ कार्यक्रममा पनि पुगेको छु म ।

अन्तत:प्रतीक्षाको फल चाख्ने दिन आयो ओक्टोबर २३ । कार्यक्रम तय अर्विङको एउटा मझौलो साइजको होटलमा भएको थियो। म यसपालीको सहभागिता केही विशेष बनाउन चाहन्थेँ । विशेष यस अर्थमा कि म यसपाली वर्षौंदेखि मौलिक नेवारी खानाबाट वञ्चित केही नेपाली साथीहरु र केही अमेरिकन साथीहरुलाई यस कार्यक्रममा लान चाहन्थे । तीमध्ये केही अमेरिकन साथीहरुले त पहिलेपनि नेवारी खाना चाखेका थिए र उनिहरुलाई मिठै लागेको थियो । तर यस्तो कार्यक्रममा लगाएदिने रातो टिकाचाहीँ यिनीहरुलाई "टोक्नु न बोक्नु" जस्तै भएको थियो । टिका नलगाउ आयोजकको अपमान गरेको जस्तो हुने, लगाउ त फेस्बुकमा कतिजनालाई मात्र विश्वस्त गर्ने की "मेरो निधारमा कसैले अट्याक गरेन यो टिका हो" भनेर।

कार्यक्रम ६ बजेबाट थियो तर हामी त्यहाँ साढे ६ तिर पुग्यौँ । कार्यक्रम स्थल अति नै मनमोहक थियो--विभिन्न ध्वजापताकाले होटेल दुलहीझैँ सिङारिएको थियो, होटेलको प्रांगणमा लेखिएको थियो "न्हुँ दँ ११३२ को शुभ कामना" । जसै हामी ढोकाभित्र प्रवेश गर्यौं दुईजना हाकुपटासीमा सजिएका ज्यापुनी मैंचाले टिका र सगुन लगाइ हामिलाई स्वागत गरे । मुख्य ढोकाबाट भित्र छिर्नेबित्तिकै मौलिक नेवारी पोशाकमा सजिएका केही यूवा-यूवतीहरुले बजाएको धिमे, काँ, खीँ, ता, भूस्या: जस्ता मौलिक नेवारी बाजाको धुनले वातावरण नै आनान्दित तुल्याएको थियो ।कार्यक्रमको रूपरेखा अनुसार पहिले सानो सांस्कृतिक कार्यक्रमको पालो थियो । मन्चको एक कुनाबाट हाकुपटासीमा सजिएकी ज्यापुनी मैंचा पूजाको "कल" बोकी लाजले खुरुरु दौडिन्छिन । र मन्चको अर्को कुनाबाट खर्पनमा फूल बोकेका "तुयुचा" खुरुरु आएर मैंचाका हात समाउँछन र नेपथ्यमा गीत घन्किन्छ "राजमती वा मतिना या वा न्ह्याइपुसे चोङ्गु थो खेले"। तुयुचा र राजमतीको छोटो रोमान्सपछि सानासाना भाईबहिनीहरुले नाच प्रस्तुत गर्छन् । सांस्कृतिक कार्यक्रमको अन्तिम आकर्षण थियो लोकल ट्यालेन्टहरुको प्रस्तुती जुन धेरैले मन पराए । त्यसपछि सबैजना कार्यक्रमको मुख्य आकर्षण अर्थात नेवारी भोज या भनौ "झ्व: भ्वे:" तिर लागे ।

मौलिक नेवारी भोजको आफ्नै विशेषता हुन्छ । "झ्व: भ्वे:" को नेपालीमा अर्थ हुन्छ लाम्वध्द भएर खाइने भोज । तसर्थ यो भोज सुकुलमा लाम्वध्द भएर खाइन्छ र जुत्ता लगाउन पाइँदैन । खाना खाने प्लेट सालको पातले गाँसेर बनेको हुन्छ भने थर्रा खान माटोले बनेको कप "सलिंचा" को प्रयोग गरिन्छ । सलिँचामा फिज आउँदैको थर्रा स्वात पार्न त बडो नै मजा आउँछ हौ ~!! नेवारी भोजपनि अरु भोजजस्तै एपेटाइजर,फुल कोर्स, र डिजर्टमा छुट्याएको हुन्छ । सामान्यतया एपेटाइजर सरल हुन्छ--फ्राइ गरेको अन्डा, भुटन-सुटन,केही किसिमको गेडागुडी र स्वात पार्न थर्रा--जसलाई कौला भनिन्छ। फूल कोर्स र डीजर्टचाहीँ सँगै हुन्छ। मासु-चिउरा र अन्य परिकार खाइसकेको पातमा दहीचिउरा खाँदा घिनलाग्दो त देख्छ, तर बालै भएन नि। थकालीको आज्ञाबाट शुरु हुने भोज उनको अनुमतीविना सक्किँदैन, अर्थात भोज खान सक्किएपनि थकालीको अनुमतीको प्रतीक्षा गर्नुपर्छ।

यसरी नेवारी भोजको कुरा "गरेरल्याउँदा" पुराना पुराना कुराहरु मनस्पटलमा ताजा भएर आउँछ । भोजको शुरुवातमा त पात खाली नै हुन्छ, सबैजना आ-आफ्नो ठाउँमा बसेपछि भलीँहरुले "फूल कोर्स"को परिकार हाल्न थाल्छन पातमा--पहीले चिउरा अनी अरु परिकार । जब सबै परिकार हालिसकिन्छ थकालीको आदेशले खाने काम शुरु हुन्छ र निर्धारित समयमा भलीँहरु थप्न आइराख्छन। खाना धेरै खानुपर्ने मलाइ त भलीँहरुले थप्न आउँदा आउँदा हैरान। यसरी थप्न आउने यी सर्वरहरुकोपनि आफ्नै महत्म्ये छ- आफूले थप्न ल्याएको कुरा थपाउन उनिहरु यतिसम्म उद्दत हुन्छन कि उनिहरु भन्छन् "यो मैले ल्याएको, तिमीहरुले थप्नै पर्छ "। मानी कि यदि नथपे उनी रिसाउछिन या त आकाश नै उल्टिन्छ । लाख प्रयास गर, पुग्यो पुग्यो भन, हात्केलाको छेक्बार बनाउ, कुनै न कुनै उपायले थपेर नै जान्छन् ।

नेवारी भोजको विशेषता नेवारी खाना--थल्थले, सन्या खुना, आलुतामा, बोडीको तरकारी, पाउँ, रक्ती, मुलाको अचार, मेथीको अचार,बारा, भटमास--सबै ठीक तर साबिकभन्दा अलि पिरो । जानकारहरु त तयारी अवस्थामा (टिस्यु र रुमाल बोकेर) आउँछन्, थाहा नहुने बिचराहरु स्यु-स्यु गर्दै हातले नाक समत्दै सुकुललाई सास्ती । विशेषता नं २-- भोज खाएको भोलिपल्ट नित्यकर्म गर्दा कम्तिमा पनि आधी घण्टा त लाग्छ नै बाथरूममा, जब पेटबाट सबै विकार हट्छ अनि बल्ल आनन्द आउँछ ।


मौलिकस्तरको नै नभएपनि आयोजकले आफ्नो स्रोत साधनले भएसम्म भोजको आयोजना गतीलै गरेको थियो । करिव दुई सय जनाको क्षमता भएको बलरूममा प्लेटमा सबैलाई खाना हालिसकिएयो थियो र सबैलाई एक एक बोतल पानीपनि उपलब्ध गराइएको थियो । थर्राको तल्तल लागेको महानुभावलाईचाहीँ ए-एउटा कप "अन-डिमान्ड" प्रदान गरिएकोथियो । वातावरण अति नै सौहार्द्रपूर्ण थियो- पछाडि नेपथ्यमा कुटुम्बका सुरिला धुनहरु बज्दैथिए । सर्वरका रुपमा सघाउन केही यूवा-यूवती र केही आन्टीजीहरु हुनुहुन्थ्यो । आन्टीजीहरु जोसँग नि खुलेर बोल्ने मिलनसार हुनुहुन्थ्यो भने ज्यापुनी मैंचाहरुचाहीँ अलि संकोच माने जस्तो भान हुन्थ्यो--सायद लाजले होला । खाना थप्न आउँदापनि उनिहरुको शिर कि त निहुरिएको हुन्थ्यो कि मुन्टो अर्कैतिर फर्किएको हुन्थ्यो । भतेर खान आएका केटाहरु पनि के कम मौका पाउने बित्तिकै सोधिहाल्थे, "अनि साथिको नामचाहीँ के नि?, अनि तपाइँले खानुभयो त? कुनबेलादेखि यहाँ हुनुहुन्छ कुन्नी ढपेडीले आँखै गढिसक्यो"। यो स्थिति दाईको बिहेमा जन्त गएका सोल्टा-सोल्टीको छेडखानीभन्दा केही कम थिएन ।

भोजको सबैभन्दा रुचाएको परिकार छोयला थियो । अझ विनयले त आफ्नो कस्सिएको पेटी खोलेर नै मागे,"ए आन्टी मलाई थोरै छोयला दिस्योन।" सायद कार्यक्रमको अन्त्यसम्म त छोयला आउटस्टक नै भयोहोला । मोटी आन्टीले अन्तीबाट हालिदिनुभएको थर्रापनि भोजको एक विशेष आकर्षण थियो । लोकल थर्रा त अवश्यपनि थिएन त्यो तरपनि उहाँले माथीबाट प्लास्टिकको कपमा तर्काउनुभएको त्यो द्रीश्य हेर्न लायकको थियो, अनि कसैकसैलाई त उहाँले मुखमै तर्काइदिनुभयो । यसरी मान्छेहरु आएर खाने र बिदा हुने क्रम चल्दै नै थियो अबेर रातीसम्म। कार्यक्रमको अन्तिम पाटो शुभ कामना आदान-प्रदान र सामूहिक तस्बिरको थियो । आयोजकलाई सफल कार्यक्रमको बधाई दिनेहरुको पनि कमी थिएन त्यहाँ ।

भोलि बिहान बाथरूम जान साबिक जस्तै उठेँ । आधा घन्टापछि फेरि बाथरूम लाग्यो मलाई, जुन साबिकको दैनिकी थिएन । यसरी दिनभरको बाथरूम भ्रमणले मलाई शिथिल बनाएको थियो। धन्न भोलिपल्ट स्कुल जानचाहीँ सक्नेभएछु । कक्षामा शिक्षकले पढाइरहनुभएको बेला सँगै बसेका दुई साथीहरुले कानेखुसी गरेको सुनेँ मैले, "सन्जु केहिपनि भएन तिमिलाई मलाई त कस्तो पखाला लाग्यो ।" अबदेखि त कहीलेपनि जाँदिन त्यो भोजमा,दुखेसो पोख्दै थिइन उनी । घर पुगेपछि भाउजुको फोन आयो, "बाबु आज लक्ष्मीपूजा छ आउने होईन?" दाई-भाउजुले भन्नुभए अनुरुप म ८ बजेतिर त्यहाँ पुगेँ । मिलेर लक्ष्मिपूजा गरियो । घरमा एउटा सामान्य अवसरकोलागि भन्दा धेरै खाना पाकेको देखेर मैले भाउजुलाई प्रश्न गरेँ, "भाउजु अरु कोहिपनि आउदैहुनुहुन्छ कि क्या हो?" "अँ रमणजी र दीपकजी आउने कुरा थियो हेर्नु न हिजोको भोजले थला परेर उठ्नै सक्नुभा 'छैन।" अनि हजुरलाईचाहीँ कस्तो छ मैले प्रश्न गरेँ । "अँ मलाई त एम्बुलेन्स नै बोलाउनु पर्‍यो नि।" विचरा पखाला लाग्दा लाग्दै मेरी भाउजु त बाथरूममा नै ढल्नुभएछ । "खाना अलि बढी लिनु न बाबु किन थोरै लिनुभएको, भो भो म त धेरै लिउ भनेर पनि भन्दिन फेरि भोजको जस्तो भयो भने।" विचरी मेरी भाउजुको त होश हवासै उडेछ । त्यतिकैमा सीतुको फोन आयो, सीतु त्यस भोजमा सर्वर बनेका थिए। "दाई तपाइँलाई केही भएन, मलाई त पेट दुखेर।" मैले त छोयला मात्र धेरै खाएको थिएँ सायद त्यसैमा केही थियो होला उनले भने । यताबाट टिम र रिचर्डको फोन आयो, "म्यान, वी बोथ गट सिक अन दोज फुड"।

लाग्थ्यो त्यो भोजबाट त कोहि सकुशल घर फर्केन क्यार । मैले कति विश्वास गरेर मेरा साथीहरुलाई त्यो भोजमा लगेको थिएँ । जनस्वस्थ्यको बारेमा मेरा अमेरिकन साथीहरुले के सोचेहोलान भनेर रातभरी निन्द्रा नै परेन। सीमित स्रोत र साधनमा त्यस्तो कार्यक्रम गर्नु त निश्चयपनि प्रशंसनिय काम हो । तर आगामी दिनमा फुड ह्याण्डलिङतिर नि ध्यान दिने हो भने यस्तो नियती फेरि फेरि भोग्नु पार्ने थिएन कि? किनकि त्यो दिन एउटा त्यस्तो दिन थियो जब मेरो विश्वासमाथि पूर्ण घात भएको थियो ।

 
Posted on 03-02-13 6:28 PM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

People got really sick after eating meat at a dashain party. I won't mention name of the city.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters